एशियाकै इतिहास बोकको चुरियामाई सुरुङमार्गको आजबाट पुनर्निर्माण सुरु हुँदै

0
63

हेटोंडा । एशियाकै सबैभन्दा पुरानो सुरुङमार्गको आजबाट पुनर्निर्माण सुरु हुने भएको छ । मकवानपुर जिल्लाको चुरियामाईमा रहेको १०४ वर्ष पुरानो सुरुङमार्गको पुनर्निर्माण बैशाखमा सकिने गरेर सुरु भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उक्त सुरुङमार्ग पुनःनिर्माणको शिलान्यास आज गर्ने छन् ।

ADVERTISEMENT

बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा. सहदेव बहादुर भण्डारीले बागमती प्रदेश सरकारले करिब ३ करोड लागतमा पुनर्निर्माण गरेर फेरि सञ्चालनमा ल्याउन लागेको बताए । ५ सय मिटरको सुरुङमार्गको २ सय मिटर मात्रै रेक्ट्रोफिटिङबाट पुनर्निर्माण गरेर सञ्चालन गर्नसक्ने अवस्था रहेको जानकारी दिए ।

हटौंडा र अमलेखगञ्जलाई सडकले जोड्न चुरे पहाडमा १ सय ४ वर्ष पहिलो चुरियामाई सुरुङमार्ग निर्माण भएको थियो । सुरुङमार्गको डिजाइन नेपालका पहिलो इन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजंग थापाले १९७४ सालमा गरेका थिए ।

तराईबाट काठमाडौं उपत्यकामा आपूर्ति सहज बनाउन सो समयमा यातायात सहज बनाउन चन्द्रशमशेरको आदेशमा हेटौंडा–अमलेखगञ्ज सुरुङमार्ग बनेको थियो । ६२ वर्षपछि पुनः प्रयोगको लागि पुनर्निर्माण सुरु हुने भएको हो ।

स्वीट्जरल्याण्डबाट नेपालको खानी तथा भौगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आएका टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम् अफ नेपाल’ मा चुरियामाईको सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन् ।

हेटौंडाको चुरियामाईमा रहेको सुरुङमार्गको लम्बाई ५ सय मिटर, चौडाइ ९ फिट र उँचाइ १० फिट छ ।