सभामुख सत्तारुढ दलको इशारामा चलेको एमालेको निष्कर्ष

0
32

काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटा सत्ता गठबन्धनको इशारामा चलेको निष्कर्ष निकालेको छ।

शनिबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकपछि पत्रकारहरुसँग बोल्दै एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले अहिलेको अवस्थामा सभामुख सापकोटाको भूमिका कुनै कोणबाट ठीक नभएको बताए ।

ADVERTISEMENT

‘संसदलाई अवरोध गर्ने हाम्रो उद्धेश्य पनि होइन। तर सभामुखको भूमिका ठीक भएन’, उनले भने, ‘हाम्रो एमाले पार्टी विभाजनका लागि उहाँले सहयोगी भूमिका खेल्नुभयो, त्यसमा आपत्ति हो।’ उनले संसद चलाउनका लागि सत्तारुढदेखि प्रतिपक्षी दलसँग पनि सभामुखले सहजीकरण गर्नुपर्नेमा एकपक्षीय रुपमा अघि बढेको पनि बताए।

‘सभामुखले संसद अघि बढाउन सबै दलहरूसँग सहजीकरण गर्नुपर्ने हो’, उनले भने, ‘तर उनी प्रतिपक्षी दलसँग छलफल नै गर्दैनन्। सभामुखले अहिले संवाद नै गर्न चाहँदैनन्।’

यदि संसदको गतिरोध सहज रुपमा हटाउने हो भने सभामुखले एमालेसँग संवाद थाल्नुपर्ने पनि भट्टराईले बताए।

‘सभामुखले संसदको गतिरोध हटाउन प्रतिपक्षी दलका नेता र पदाधिकारीसँग छलफल गर्नुपर्यो’, उनले भने, ‘सभामुख अहिले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत डाक्दैनन्, कुनै छलफल नै गर्दैनन्।’

उनले सदनमा सभामुखको आसन नै सत्ता र प्रतिपक्षको ठिक बीचमा राखेर समन्वयकारी भूमिकाको पुष्टि गर्न खोजिएको पनि बताए।

‘तर सभामुखले त्यो आसनको पनि ख्याल गरेनन्। कार्यपरामर्श समितिको बैठक नै डाकिएको छैन’, उनले भने, ‘सभामुखको व्यवहार निष्पक्ष भएन। सभामुखले एमालेसँग छलफल गर्नैपर्छ। छलफल गरेर समाधानतर्फ जानेमा सभामुखले पहल थाल्न ढिला गर्नु हुँदैन।’