स्वास्थ्य मन्त्रालयमा प्रशासन तर्फको सचिव राखेकोमा विरोध

0
24

हेटौडा / बागमती प्रदेशमा भर्खरै सामाजिक बिकाश मन्त्रालय फुटाएर बनाइएको स्वास्थ्य मन्त्रालयमा प्रशासनतर्फकै सचिव रहने व्यवस्थासहितको सांगठनिक संरचना बनाएको भन्दै सरकारी चिकित्सक संघ (गोदान) र नेपाल चिकित्सक संघले आपत्ति जनाएका छन् ।

मन्त्रालयले प्रस्तावित दरबन्दी तेरिजमा मन्त्रालयमा संघीय सेवाको राजपत्रांकित प्रथम तहको सचिव रहने उल्लेख छ । यस्तै, मन्त्रालयमा ९/१० औं तहको अधिकृतस्तरको प्रशासनतर्फकै उपसचिव रहने सांगठिक संरचनामा छ । त्यसपछि मात्र स्वास्थ्य सेवातर्फका कर्मचारीलाई मन्त्रालयको प्रस्ताविक सांगठनिक संरचनामा स्थान दिइएको छ ।

ADVERTISEMENT

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा  स्वास्थ्य सेवातर्फको वरिष्ठ जनस्वास्थ्य निरीक्षक (हेई) ९/१० औं तह १ जना, वरिष्ठ उपस्वास्थ्य प्रशासक ९/१० औं १ जना, आयुर्वेद चिकित्सक ८ औं तह १ जना, अधिकृत प्रशासन ७/८ औं तह २ जना, न्याय सेवाको कानून अधिकृत १ जना, लेखा अधिकृत प्रशासन लेखा समूहको ७/८ औं तहको १ जना, जनस्वास्थ्य अधिकृत (हेई) ७/८ औं तहको एक जना, जनस्वास्थ्य शिक्षा अधिकृत (हेए) ७/८ औं तहको १ जना प्रस्ताव गरिएको छ । यस्तै कम्युनिटी नर्सिङ अधिकृत ७/८ तहको १ जना, फार्मेसी अधिकृत ७/८ तहको १ जना, सहायक/अधिकृत प्रशासनतर्फको ५/६ औं तहको २ जना, सहायक कम्प्युटर ४/५ औं तहका २ जना, सह लेखापाल प्रशासन लेखाको ४/५ औं तहका १ जना, हसचा तहबिहीन ३ जना, कार्यालय सहयोगी तहविहीन ४ जना गरी कुल २५ जनाको प्रस्तावित दरबन्दी तयार पारिएको छ। प्रदेशका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवातर्फको सचिव नराखिए प्रदेशकै आकस्मिकबाहेकको स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका थिए । तर, मन्त्रालयले उक्त चेतावनीलाई बेवास्ता गर्दै प्रशासनतर्फकै सचिव रहने दरबन्दी प्रस्ताव गरेको छ ।

गोदानले बागमती प्रदेशमा गठन गरिएको स्वास्थ्य मन्त्रालयको प्रस्तावित दरबन्दीमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्वास्थ्य ज्ञान नभएको व्यक्तिलाई मन्त्रालयको प्रशासनको नेतृत्व दिनु हास्यास्पद र गैरजिम्मेवार भनेको छ । त्यसैगरी नेपाल चिकित्सक संघले  चिकित्सक तथा स्वास्थ्यकर्मीकै नेतृत्वमा स्वास्थ्य मन्त्रालय सञ्चालन हुनुपर्ने र सोही बमोजिमको मेडिकल अधिकृतसहित विशेषज्ञ चिकित्सकहरुको दरबन्दी सुनिश्चित गर्न महाशाखा, विभाग, शाखाको उचित व्यवस्था गर्ने गरी हाल प्रस्तावित गरिएको दरबन्दी तुरुन्त सच्याउन माग गरेको छ ।