मकवानपुरगढीमा दुग्ध प्रशोधन तथा उत्पादन उद्योग स्थापनाका लागि सहकारी र सहयोगी संस्था बिच सम्झौता

0
87

मक्रान्चुली- मकवानपुरगढीमा सहकारी मार्फत दुग्ध प्रशोधन तथा उत्पादन उद्योग स्थापना हुने भएको छ ।

दुग्ध प्रशोधन तथा उत्पादन उद्योग उप- आयोजना निर्माणका लागि मकवानपुरगढीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था र सहयोगी संस्था नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रिकृत आयोजना सहयोग इकाई, हेटौंडाका बीच पूरक अनुदान कार्यक्रम अन्तरगत उप आयोजना संचालनको लागि आज द्धिपक्षिय सम्झौता भएको छ । एन एल एस आईपिका आयोजना समन्वय प्रमुख डा. बिदुर प्रसाद गौतम र सहकारीका तर्फबाट संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालले सम्झौतामा संयुक्त हस्ताक्षर गर्नुभएको हो ।

दुग्ध तथा दुग्धजन्य पदार्थको उत्पादन र प्रशोधन, उत्पादकत्व ४० प्रतिशत ले वृद्धि गर्ने र विक्रि ३० प्रतिशतले वृद्धि हुने आयोजनाको लक्ष्य रहेको छ । आयोजना सम्पन्न गर्नको लागि संबन्धित संस्थाको २० प्रतिशत , बैंकको ३० प्रतिशत लगानी हुनेछ भने बाँकी ५० प्रतिशत ( १ करोडसम्म ) एन एल एस आईपि को लगानी रहनेछ । आयोजनाको कुल लागत २ करोड सम्मको हुने आयोजना समन्वय प्रमुख डा. बिदुर गौतमले जानकारी दिनुभयो ।

आयोजनाको भौतिक संरचना निर्माण, मेशिनरी उपकरणमा ५० प्रतिशत अनुदान उपलब्ध हुनेछ । कार्यसम्पन्नताका आधारमा ३ किस्तामा रकम उपलब्ध हुने र कार्य सम्पन्न २०७९ जेष्ठ मसान्तसम्म गरिसक्नुपर्ने डाक्टर गौतमले बताउनुभयो । उद्योग स्थापना पश्चात् किसानले उत्पादन गरेको दूध बिक्रीको लागि समस्या नहुने तथा किसानलाई दुधको मुल्यमा केही थप गर्न सकिने सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालले बताउनुभयो । संस्थाले गत वर्ष नै आयोजना स्थापनाका लागि प्रस्तावना पेश गरे बमोजिम उप-आयोजना संचालनका लागि स्वीकृत भएको हो ।

यसअघि नै यस आयोजना अन्तरगत रहेको विकेन्द्रिकृत आयोजना सहयोग इकाई, हेटौंडाको कार्यक्षेत्र रहेको बागमती प्रदेश र प्रदेश नं. २ को ७ जिल्ला मध्ये ३ जिल्लाका ६ वटा संस्था समुहहरु सँग पहिलो सम्झौता सम्पन्न भैसकेको छ ।

ADVERTISEMENT