सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयक अल्झियो, अब केहि दिन सरकारी खर्च रोकिने

0
5

काठमाण्डौ । प्रतिनिधिसभाले बजेटको प्रतिस्थापन विधेयक टुंगो लगाउन नसकेपछि भोलीबाट सरकारी खर्च बन्द हुने भएको छ ।

अब सरकारले कर उठाउनमात्र सक्छ तर खर्च गर्न भने नसक्ने भएको छ । यसअघि ल्याएको बजेट अध्यादेश संसद् चलेको अवस्थामा ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित गर्पर्नुर्ने प्रावधान छ । ६० दिनको समय भोली बुधबार सकिँदैछ । आजको प्रतिनिधिसभा बैठक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमात्र पारित गरेर सकिएको छ । प्रतिनिधिसभाको नवौं अधिवेशन सुरु भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद् अवरोध गरिरहेको छ । प्रतिनिधिसभा अवरोधपछि मंगलबार विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित गरेर बैठक असोज ४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

ADVERTISEMENT

यता, प्रधानमन्त्री शेरबहादुर देउवाले भने बजेट प्रतिस्थापन विधेयक संसद्मा पारित नहुँदा सरकारी खर्च गर्न नरोकिने बताउनु भएको छ । संसद् भवनबाट बाहिरिने क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले प्रतिस्थापन विधेयकका कारण सरकारी खर्च नरोकिने बताउनु भएको हो । तर, अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा ५–७ दिन सरकारी खर्च रोकिन सक्ने बताउनु भएको छ । बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा ५/७ दिन सरकारी खर्च रोकिन सक्ने बताउनु भएको हो । अर्थमन्त्री शर्माले एमालेको सहमतिमै संसदमा पेश भएका अर्थसम्बन्धी विधेयकहरू पारित गर्ने समेत बताउनुभयो । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचारधीन रहेको छ ।००००