प्रचण्डलाई अघिल्लो चुनावमा कान्छी औँला दिएको थिएँ अब त हात पनि देखाउन्न : ओली

0
12

बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावमा पहिलो पार्टी बन्ने अभिव्यक्तिलाई लिएर जवाफ फर्काएका छन्।

आजै प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा आउँदो चुनावमा माओवादी पहिलो पार्टी हुने दाबी गरेका थिए। प्रचण्डको उक्त दाबीको जवाफ ओलीले आज बुटवलमा आयोजित कार्यकर्ता भेलामार्फत् फर्काएका हुन्। अघिल्लो चुनावमा आफूले औँला दिँदा अहिलेको अवस्थामा आएका माओवादीलाई अबको चुनावमा आफूले हात पनि नदेखाउने ओलीले बताए।

ADVERTISEMENT

‘प्रचण्डले साचो कुरा बोल्नु भयो- अब हामीलाई वडा अध्यक्ष जित्न पनि गाह्रो छ – उहाँले सही भन्नुभयो,’ ओलीले भने, ‘अघिल्लो चुनाबमा मैले कान्छी औंला दिएको थिएँ त्यही भएर यहाँसम्म आउनु भयो। तर, अब म हात त हेर्न नि दिदिन।’

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको निरन्तरता नै एमाले भएको ओलीको दाबी छ। प्रचण्ड भने पार्टीबाट निस्किएको उनले बताए। ‘हामीले माओवादी र एमाले मिलाएर एकीकृत पार्टी बनाएका छौं। नेकपा फुटेको छैन, प्रचण्ड समूह निस्केको हो,’ओलीको दाबी थियो।

प्रचण्डमाथि खनिएका ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति पनि आक्रोश व्यक्त गरे। उनले प्रचण्डलाई नेपालले उकासेको आरोप लगाउँदै भने, ‘माधव नेपाल लगायतका टिमले खुट्टा कमाउने होइन भन्दै प्रचण्डलाई यहाँ पुर्‍याएका हुन। प्रचण्डलाई सोध्नुहोस् आफ्नै बुद्धिले हो कि नेपालको? भन्नुस् त नेपालकै नाम लिन्छन्।’

नेता नेपालतिर लागेर सही ठाउँमा नपुगिने भन्दै ओलीले एमालेमा फर्कन कार्यकर्तालाई आग्रह गरे। ‘मौरीको पछिलागे फूलमा पुगिन्छ बगैंचा पुगिन्छ, झिंगाको पछि लागे डङुरमा,’ ओलीको भनाई थियो।